अटवारी पर्व ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरू अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित समय हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरूको बहसको विषय पनि बन्दै आएको छ ।
अटवारी कहिले मनाइन्छ ?
अटवारीको पुरानो परम्परागत अवस्था र पृष्ठभूमिलाई हेर्ने हो भने नेपाली महिलाहरूले साउन महिनाको प्रत्येक सोमबार व्रत बसे जस्तै थारु समुदायमा भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको सबै आइतबारलाई अटवारी पर्वको रूपमा मान्ने चलन थियो । तर, यो चलन अहिले छैन । समयसँगै अहिले यो एक आइतबारमा मात्रै सीमित भइसकेको छ । कुनै साल कात्तिके दशैं पर्यो भने एउटै व्यक्तिले १२–१३ पटकसम्म व्रत बस्नु पर्ने अवस्था हुन्थ्यो । यति लामो समयसम्म लगातार व्रत बस्नु पर्ने भएपछि शारीरिक तथा आर्थिक रूपमा पनि समस्या देखिन थालेपछि समयक्रम अनुसार पछिल्लो समयमा केही परिमार्जन भएको देखिन्छ । त्यसपछि केही व्यक्तिहरू भदौको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारको अटवारी धुमधामसँग मनाएर व्रत स्थगित गर्दथे भने स्वेच्छिक व्रत बस्नेहरू दशैंसम्मको आइतबार नियमित रूपमा अटवारी व्रत बस्दथे ।
समयक्रमसँगै भदौको पहिलो आइतबारदेखिको कुशे औंसी अगाडिसम्मको आइतबार व्रत बस्न अहिले छोडिसकेका छन् । भदौ महिना ऊ बेला धेरैजसोको घरमा भोकमरी हुने र झाडापखाला लगायतका महामारी तथा बर्षे धानबाली (बैशाख–जेठमा रोपेर भदौमा भित्राउने असन्ह्याँ धान) भित्राउने र हिउँदे धानबाली (असन्ह्याँ धान काटेर त्यसैमा जरन्ह्याँ धान उल्झा गर्ने) रोपाइ शुरु गर्ने हुँदा कामको चटारो भएकोले व्रत बस्न छोडेको कुरा जानकारहरूले बताउँछन् । तर कुशे औंसीपछिको पहिलो आइतबार बर्का अटवारी र त्यसपछिको ४ आइतबार छुट्की अटवारी पर्व मान्ने चलन भने लामो समयसम्म रह्यो । यसरी पाँच अटवारी व्रत रहनेहरूलाई ‘पाँच अटवह्र्यन’ भनिन्थ्यो । पाँच अटवारीपछि दशैं शुरु हुन्छ । अहिले बर्का अटवारी पछिको चार आइतबार व्रत बस्ने चलन पनि हराइसकेको छ ।
यसरी (१) भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म, (२) भदौ महिनाको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारसम्म, (३) कुशे औंसीको पहिलो आइतबारदेखि दशैंसम्मको ५ आइतबार र (४) कुशे औंसीको पहिलो आइतबार मात्र व्रत बस्ने यी चार थरिका व्रतालुको साझा दिन कुशे औसीको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो । अन्य अटवारीलाई भने सामान्य अटवारी अथवा छुट्की अटवारी भन्ने चलन छ । थारू समुदायमा अष्टिम्की पछिको दोस्रो आइतबार अथवा कुशे औंसीको पहिलो आइतबार भनेझै यस पर्वको समय तालिका हेर्ने हो भने थारु समुदायको अस्टिम्कीपछिको दोस्रो आइतबार अर्थात् । भदौ २० गते अस्टिम्की थियो त्यसपछि पहिलो आइतबार २४ गते र दोस्रो आइतबार ३१ गते पर्छ । जुन कुशे औंसीको पहिलो आइतबार पनि हो । ३१ गते पछि असोजको ७, १४, २१ र २८ गते पनि आइतबार पर्दछन् । त्यसपछि दशै शुरु हुन्छ । यसरी हेर्दा पनि भदौ ३१ गते बर्का अटवारी र असोज ७, १४, २१ र २८ गते छुट्की अट्वारी पर्छ । त्यस पछि डस्या आइपुग्छ । यसले पनि बर्का अटवारी ३१ रहे प्रमाणित हुन्छ ।
भ्रम र विवादका कारणहरू
विश्वमा मनाइने चाडपर्व, उत्सव, स्मृति दिवसहरूलाई व्यवस्थित र समय निर्धारणका केही मान्यताहरू प्रतिपादन भएका छन् । जो अत्यन्त बैज्ञानिक र सर्वमान्य मानकका रूपमा रहेका छन् । यसको सन्देशले समुदायस्तरमा अन्यौलता मुक्त गराउँछ । ती सिद्धान्तहरू हुन् १) मिति आधारित मान्यता, २) तिथि आधारित मान्यता, ३) बार आधारित मान्यता र (४) अनुकलता आभारित मान्यता । मिति आधारित चाडपर्वहरूमा साउन १ गते साउने संक्रान्ति, असोजको १ गते विश्वकर्मा पूजा माघको १ गते थारू माघ, माघे संक्रान्ति, बैशाख १ गते नयाँ वर्ष, जन्मदिवस, स्मृति दिवस लगायतका पर्दछन् । यी पर्व तथा उत्सव मनाउनका लागि निश्चित गते हुन्छ र सोही अनुसारको पर्व तय हुन्छ । यस्ता पर्वमा तिथि र बार कुनै अर्थ राख्दैन । त्यसैगरी तिथि आधारित चाडपर्व र उत्सवमा बैशाख पूर्णिमामा बुद्ध जयन्ति, साउनको कृष्ण पक्षको पञ्चमी तिथिमा गुरही, नाग पञ्चमी, शुक्ल पक्षको अष्टमी तिथिमा अष्टिम्की, कुसे औंसी पछिको तृतीया तिथिमा तीज यसैगरी दशैं तिहार, होली लगायतका पर्दछन् । यो पर्वहरू निश्चित तिथिका आधारमा निर्धारण गरिएका हुन्छन् । जस्तै बुद्ध जयन्ती बैशाख पूर्णिमा पर्दछ । बुद्ध जयन्ती मनाउनको लागि बैशाख पूर्णिमा नै चाहिन्छ र यसैले गते र बारलाई डोर्याउँछ । नाग पन्चमी प्रत्येक वर्ष साउन कृष्ण पक्षको पञ्चमी तिथिमा पर्दछ । यहि पञ्चमी तिथिको आधारमा पर्व मनाइन्छ गते र बार प्रत्येक वर्ष फेरिरहन्छ ।
त्यसैगरी बार आधारित पर्वहरूमा अटवारी, नेपाली महिलाहरूको साउन महिनाको सोमबारे ब्रत, सुखद् शुक्रबार, थारू समुदायको सोमबार दूध चढाउने लगायत पर्दछन् । मिति र तिथि आधारित पर्व जस्तै बार आधारित पर्वमा पनि तिथि र मितिले अर्थ राख्दैन । यस्ता चाडपर्वहरू बारको आधारमा निर्धारण गरिएको हुन्छन् । जस्तै नेपाली महिलाहरूले साउन महिना भरि सोमबार ब्रत बस्ने गर्छन् । यसरी सोमबार ब्रत बस्नका लागि कुनै तिथि र गतेले प्रभाव पार्दैन । साउनमा सोमबार पर्यो भने स्फूर्त रूपमा सोमबार ब्रत बसेर परम्परागत अनुष्ठान गरिन्छ । त्यसैगरी अटवारी पर्व पनि बार आधारित पर्व हो । विशेष पश्चिमा थारू समुदायलले मनाउने यो पर्व कुशे औंसीको पहिलो आइतबार निराहार ब्रत बसेर मनाइने परम्परागत चलन हो । यी तीन थरि मान्यता बाहेक अनुकुलता आधारित उत्सवहरू पनि छन् । जस्तै थारू समुदायमा मनाउने हर्डह्वा, पेंडिया, संस्थागत मनाइने वार्षिक उत्सव, वनभोज, चुक्की लगायतका पर्छन यसका लागि निश्चित तिथि, मिति र बार को आवश्यकता पर्दैन । यो सानो क्षेत्रमा सीमित व्यक्तिहरूले मात्रै मनाउने भएकोले समय हेरेर जुनसुकै समयमा मनाउन सकिन्छ ।
थारू समुदायको अटवारी पर्वको विषयमा बेलाबेला विवाद भइरहेको पाइन्छ । यस वर्ष पनि आंशिक विवाद देखिएको छ । यो लेखमा उल्लिखित माथिका मान्यताको आधारमा हेर्ने हो भने थारू समुदायको अटवारी पर्वमा खासै विवाद हुने देखिदैन । किन कि अटवारी सिद्धान्ततः बार आधारित पर्व भएकोले तिथि थोपारी रहन जरुरी देखिदैन । अहिलेसम्म देखिएको विवादको मूल जरो भनेको पनि यही हो । बार आधारित पर्व माथि तिथि थोपर्नु भनेकै थारू समुदायको मौलिक संस्कृति माथि परसंस्कृतिको जबरजस्त लेपन गर्नु हो । यही समस्याकै कारण पटक पटक थारू समुदायमा विवाद भएको पनि देखिन्छ । थारू समुदाय तराइको आदिवासी प्रकृति पूजक समुदाय हो । तर अटवारी पर्व कहिले उत्तरतिरको संस्कृति थोपरेर भ्रम सिर्जना गरिएको छ त कहिले दक्षिणतिरको संस्कृति थोपरेर भ्रम सिर्जना गरेर थारु समुदायलाई गुम्राहामा राखिएको छ । अहिलेसम्म देखिएको अटवारी विवादित हुनुको कारण यही हो ।
केहीको धारणा नेपाली नारीहरूको हरितालिका तीजपछिको आइतबारलाई अटवारी मान्ने छ । तर योे त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने होे भने ‘पाँच अटवारी’ व्रत बस्नेहरूको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारूवस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरूको बसाइ थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैन । अहिलेको जस्तो विभिन्न जातजातिहरूको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्वीकारी सकेको अवस्थामा योे कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होेइन ।
उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । योे एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर योे सत्य होेइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ अथवा तीज अगावै पनि पर्छ । तर, पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखापरेको छ ।
अटवारीमा कसको पूजा हुन्छ ?
प्रकृति पुजक थारू समुदायमा खास गरेर योे पर्व सूर्यको पूजा गरेर मनाइन्छ । सूर्यलाई उज्यालो, अग्नी र शक्ति (उर्जा)को प्रतीकको रूपमा मानिन्छ । आइतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । जब भयावह कालरात्रि चिरेर सूर्यको उदय भएपछि योे संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होेइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । सुर्यले वातावरणीय चक्र प्रणालीलाई सन्तुलित बनाउन छ । जसको आधारमा ऋतु अनुसारको काम र समयको निर्धाण पनि हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रूपमा गरेका हुन् ।
अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिंडेँ । जब लराइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अटवारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरू उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरूपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ ।
अटवारी कसरी मनाइन्छ ?
अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनैै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरू भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ ।
आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरूको खान भान्सामा पाक्दैन । उनीहरू बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गरन्छि । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रूपमा लिइन्छ । योे पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ ।
रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनैै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ ।
सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रूपमा अगयारी दिने चलन आएको होे । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरूका लागि पहुरको रूपमा ‘अग्रासन’ छुट्याउने चलन छ । ‘अग्रासन भनेको आफू खानुभन्दा पहिले छुट्टयाएको खान भन्ने बुझाउँछ । जुन आफू खानुभन्दा पहिले आफ्ना चेलीहरूको नाममा छुट्टयाइन्छ । अग्रासन ‘अग’ र ‘रासन’ समास भए बनेको शब्द हो । यहाँ ‘अग’ भनेकोे सबैभन्दा पहिले भन्ने अर्थ हुन्छ र ‘रासन’ भनेको खान भन्ने बुझाउँछ । यसरी चेली बेटीहरूलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । योे काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिरहनु पर्दैन । दिउँसो नै पूजा गरी खाने चलन छ । योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रूपले बन्द हुन्छ ।
अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा होे । यस दिन व्रतालुहरू बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरूले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरू बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ ।
फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरू हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रूपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रूपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरू अन्न ग्रहण गर्छन् ।
अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरूलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरूले निकालेको पहुर ‘अग्रासन’ उनीहरूकै घरमा पु¥याउन जाने चलन छ । अग्रासन पु¥याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरू जान्छन् । चेलीहरू पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् ।
योे पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रूपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरू यस पर्वमा आफ्ना दाजुभाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरू पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरू भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोेग, अनावश्यक खर्च, कुनैै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पु¥याउन नसके चेलीहरूमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गर्त र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ । अटवारी सबैको शुभ रहोेस्
साभार:- छबिलाल कोपिला
देउखुरी दाङ्ग
0 Comments